प्राइम खबर संबाददाता | माघ १, २०७७ बिहिबार

रौतहट - रौतहटमा चिसोका कारण जनजिवन प्रभावित भईरहेको अवस्थामा रौतहटका एक समाजसेवी रिक्सा चालक केदार प्रसाद तिमल्सिना न्यानो अभियान चलाउँदै व्यस्त छन।  तिमल्सिनाले बुधवार चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित गैरीगाउँ को नहरमा रहेको सुकुम्बासी बस्तिमा न्यानो कपडा बितरण गरेका छन् ।  नहरको डिलमा रहेको सो बस्तिका करिब ३० घर धुरीका लागि कपडा बितरण गरिएको चालक तिमल्सिनाले बताएका छन् । दैनिक ज्यालादारी र मजदुरीको काम गर्दै आएको सो बस्तिका बासिन्दा चिसोका कारण बढी प्रभावित भएका थिए । ललितपुर घर भएका दिपक संजेल र बासु भण्डारीको पहल तथा सहयोगमा उक्त  न्यानो कपडा सो बस्तिमा लगेर बितरण गरिएको तिमल्सिनाले बताए । चालक तिमल्सिनाले बिगत लामो समयदेखि तराईका शितलहर पिडितका लागि न्यानो कपडा लगायतका सहयोग गर्दै आएको समेत उनले बताएका छन् । यसअघि पनि चन्द्रपुर नगरपालिका वडा नं. ९ का सुरेश माझीलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरिएको उनले बताए  । शारीरिक रूपले अपाङ्ग रहेका माझीको दैनिकी कष्टकर  रहिरहेको अवस्थामा रिक्सा चालक तिमल्सिनाको सहयोगले राहत मिलेको माझीको परिवारले बताए ।  उनको न्यानो अभियानको लागि सामाजिक सञ्जालको सहायताबाट दातृ  निकाय मार्फत सहयोग जुटाउने गरेको उनले बताए ।