प्राइम खबर संबाददाता | फागुन २४, २०७७ सोमबार
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रौतहट स्थित चन्द्रपुर नगरपालिका द्वारा आयोजित कार्यक्रममा आयोजकले महिलाको अपमान गरेको भन्दै नगरपालिका अन्तर्गतका ५६ जना स्वयं सेबिकाहरु सहित कार्यक्रममा सहभागी महिलाहरुले कार्यक्रम बहिस्कार गरेका छन् ।
कार्यक्रमको लागि नगरपालिकाको आदेश अनुसार महिला स्वयं सेबिका हरु औपचारिक पोशाकमा उपस्थित भएका थिए । कार्यक्रम बिहान ११ बजेलाई निमन्त्रणा गरी बोलाइएको भएपनि व्यवस्थापन पक्षको कमजोरीका कारण कार्यक्रम निकै ढिलो सुरुवात भएको थियो ।
महिलाको सम्मान, सुरक्षा र रोजगार, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय नारी दिवश मनाउन हर्सोल्लासका साथ चन्द्रनिगाहपुर आएका महिलाहरु तोकिएको समय भन्दा अबेर कार्यक्रम सुरु हुँदा तातो घाममा बसेर भएपनि कार्यक्रममा सरिक हुँदै सफल बनाउन लागेको भएतापनि आयोजक पक्षले उक्त कार्यक्रममा उपस्थित महिला स्वयंसेविका लाई अपमान गरेको महिला स्वयंसेविकाहरुको आरोप रहेको छ ।
उक्त कार्यक्रमको आयोजक रहेको चन्द्रपुर नगरपालिकाकी उपमेयर समेतले आफूहरुलाई अपमान हुने कुरा गरेपछि चन्द्रपुर नगरपालिका स्वास्थ्य साखामा घेराउ गर्दै विरोध गर्नु परेको महिला स्वास्थ्य स्वयं सेबिका विन्दा न्यौपानेले बताइन् ।
कार्यक्रममा आफूहरुलाई सम्मान नगरिएको र पानी बाड्न मात्र लगाएको न्यौपानेको आरोप रहेको छ । कार्यक्रममा नगरपालिकाका १० वटै वडाका स्वयं सेविकाहरुको अगुवाइमा महिलाहरु नारी दिवस मनाउन चन्द्रनिगाहपुर आएका थिए ।
नारी दिवसको कार्यक्रम भएतापनि पुरुषहरुको पनि कार्यक्रममा राम्रै सहभागिता रहेको थियो ।