सन्तोष काफ्ले | पुस १, २०७९ शुक्रबार

रौतहटमा रहेको एक पालिकामा भएको अनियमितता र भ्रष्टाचार लुकाउन लेखाफाटबाट लेखापाल कर्मचारीले नै चोरी भएको भन्दै योजनाका फाइलहरु लुकाएको तथ्य बाहिरिएको छ । 


जिल्लाको माधवनारायण नगरपालिकाको लेखा प्रमुख राम बलम यादव, कार्यालय सहयोगी अर्जुन, लखन र राजेशलाई सो सम्बन्धमा  अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ।



माधबनारायण नगरपालिका माधोपुर रौतहटको लेखा शाखाका विवादित फाइलहरु अचानक  गायव भए पछि शुक्रबार लेखापाल यादवलाइ नियन्त्रणमा लिएको बताइएको छ । 

लेखापाल यादव सँगै उनका सहयोगी पनि प्रहरी नियन्त्रणमा रहेका छन् । लेखा शाखाका कर्मचारी नै प्रहरी नियन्त्रणमा पारेपछि कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले तत्काल माधवनारायणमा  लेखा प्रमुखको वैकल्पिक ब्यबस्थापन नगरे नगरपालिकाका आर्थिक एबम् प्रशासनिक कार्यहरू समेत अस्त ब्यस्त हुन सक्ने स्थानीय बताउँछन् ।

कमिशन लिएर जस्तो सुकै भुक्तानी गर्ने, आर्थिक अनियमिततामा नाम कमाउने आरोप लाने गरेका यादवलाई कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटको समेत संरक्षण रहेको बुझिएको छ । उनले अनियमितता गरेको भन्ने बारम्बार आवाज उठ्दा समेत सम्बन्धित निकायले कुनै ध्यान नदिएको हुँदा सेटिङको गन्ध उदाङ्गो भएको जनप्रतिनिधि समेत बताउँछन् ।